Provincial Hospital Janakpur - Introduction

प्रदेश नं. २ को प्रतिविम्ब बोकेको प्रादेशिक अस्पताल जनकपुरधामको एउटा गौरवशाली इतिहास रहेको छ । देशले गौरव गर्नुपर्ने थुप्रै चिकित्सक र स्वास्थ्यकर्मीहरू यस अस्पतालको अविस्मरणीय अध्यायका साक्षी रहेका छन् । विभिन्न उतारचढावको बिच यहाँसम्म आइपुग्दा प्रादेशिक अस्पतालले आफ्नै स्मारिका निकाल्ने एउटा जमर्को गरेको छ । अघोडी बाबा श्री रामनाथ अघोडी पशुपतीनाथ दर्शनार्थ काठमाण्डौ आएको २-३ वर्षपछि २०१३ सालमा माता जानकीको दर्शन गर्न जनकपुरधाम आउनु भएको थियो । जनकपुरधाम बसाइको क्रममा जनकपुरधाम जस्तो पवित्र धार्मिक ऐतिहासिक महत्वपूर्ण ठाउँमा जनताको स्वास्थ्य सेवाको लागि एउटा पनि अस्पताल नभएको थाहा पाएपछि उनले यस ठाउँमा अस्पताल हुनुपर्छ भनि सङ्कल्पका साथ अनसनमै बस्नुभयो । त्यसबेलाका गन्यमान्य महानुभावहरू र जानकी मन्दिरका तत्कालीन महन्थ श्री श्री १०८ श्री नवल किशोर दास अध्यक्षतामा एउटा समिति गठन भयो । समितिको सचिवमा स्व. सरोजप्रसाद कोइराला सदस्यहरूमा विश्वनाथ साह, औषधि व्यवसायी बटुकराज गौतम, डा. जयवल्लभ दास आदि सम्मिलित निर्माण समिति गठन भयो । जग्गा जानकी मन्दिरका महन्तबाट उपलब्ध भएको थियो । फुसको झुपरी निर्माण गरी सोही वर्ष जानकी पब्लिक हस्पिटलको शुभारम्भ भयो । विकासको क्रममा खपडा घर बन्यो । १-२ वर्षभित्र ३ कोठाको पक्की घरको निर्माण सम्पन्न भयो । शुरू-शुरूमा २००९ साल देखि नै भारतबाट आइ डा. जयवल्लभ दास ज्यूले प्राइभेट प्रैक्टिस गर्नुहुन्थ्यो र पछि एउटा सहयोगी लिई त्यही रुखमुनी बनेको झुपडीमा निःशुल्क रूपमा विरामी जाँच्न थाल्नु भयो । त्यतिबेला गांधी चर्खा आश्रम बसहियामा कार्यरत नर्स भद्रा घलेले सेवा गरी सहयोग गर्नहुन्थ्यो । वि. सं. २०१८ सालमा सरकारी अनुदान प्राप्त भएपछि पूर्वतर्फबाट अन्तरंग विभागको निर्माण पछि समाजसेवी भू. पू. राजपरिषद् सदस्य रामचन्द्र साहबाट उत्तरतर्फ भवन निर्माण गरी थप इण्डोर भवन जोड्नु भयो । केही समय पश्चात् स्व राम स्वरूप साहको भाइ स्व. रामसागर साहको स्मृतिमा उनका छोरा फुलगेन साहज्यूले दक्षिणतिर (पूर्व पश्चिम) थप इण्डोर भवन निर्माण गर्नुभयो । जानकी पब्लिक अस्पतालमा पहिलो पटक डा. वी. के. घोष मे. अ. भई कामकाज गर्नुभएको थियो । वि. सं. २०२४ सालमा १५ वेड र २०२६ सालमा २५ वेड सञ्चालन हुँदा निःशुल्क सेवाको रूपमा डा. जयवल्लभ दास सहयोग गर्नुहुन्थ्यो र पछि २०२८ सालमा मा. मंत्री भोजराज घिमिरेज्यूले जलेश्वरबाट जनकपुरमा अस्पताल सारी ५० शैय्याको जनकपुर अञ्चल अस्पताल विधिवत रूपमा सञ्चालन गराउनु भयो । डा. रामवहादुर सिंह सिभिल सर्जनको रूपमा कार्यभार सम्भाल्नु भयो । विकास र विस्तारको क्रममा ५० वेड थप भई २०४८ मा सम्माननीय पूर्व राष्ट्रपति रामवरण यादव तत्कालीन मंत्री हुँदा १०० वेड थप गरी हाल २०० वेड स्वीकृत भई सञ्चालित छ ।